राष्ट्रपतिले पदबाट राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह

२०८३ असार १९, शुक्रबार

काठमाडौं : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै उनले पदबाट राजीनामा दिँदा राम्रो हुने बताएका छन्।

बिहीबार आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै साहले राष्ट्रपति पौडेलले पदीय गरिमा कायम राख्न नसकेको र वर्तमान सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए । उनले जेनजी आन्दोलनका बेला राष्ट्रपति पौडेलले संसद् जोगाउन नसकेको र संविधानको संरक्षक हुँदाहुँदै संविधान मिचेर सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरिएको आरोप लगाए ।

साहले विदेशी नागरिकलाई नेपालमा सरकारी जागिर र वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै यस्ता विषयमा राष्ट्रपति वर्तमान सरकारको सारथी बनेको आरोप लगाए ।

राष्ट्रपति पौडेलले असार ११ गते वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेपछि साहले त्यसको विरोध गर्दै राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न नसकेको आरोप लगाएका हुन् । उनका अनुसार उक्त विधेयक लागू भएपछि कोषको कार्यकारी अधिकृत (सीईओ) विदेशी नागरिक पनि हुन सक्नेछन् ।

साहले राष्ट्रपति पौडेलले आफूले लिएको शपथको मर्यादासमेत जोगाउन नसकेको र सरकारको दबाबमा निरीह बनेको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार