व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन : प्रधानमन्त्री

२०८३ असार २४, बुधबार

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उद्योगी तथा व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो बताएको परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले जानकारी दिए ।

प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नभएको बताए को पनि उनले बताए । ‘देश बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसो हुँदा सरकारले निजी क्षेत्रलाई साथ नै लिएर अघि बढ्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो,’ उनले भने ।

छलफलमा चेम्बरले आयात निर्यात समस्या र अधिकतम खुद्रा मूल्य (एमआरपी) सम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको थियो । निजी क्षेत्रका समस्या समाधानका लागि विज्ञसहित समिति गठन गर्ने र निरन्तर छलफल गर्ने प्रधानमन्त्री बालेनले बताएको व्यवसायीको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधि चलायमान एवं सशक्त बनाउने, उद्योग–व्यवसाय सञ्चालन थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदेको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रधामन्त्रीसँगको संवादबाट व्यवसायी उत्साहित छन् । अहिलेसम्म निजी क्षेत्रलाई एक हिसाबले बहिष्कार नै गरेको सरकार संवादमा आएकोमा उनीहरू उत्साहित भएका हुन् ।

प्रधानमन्त्रीसँगको छलफलमा महासंघबाट अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वल श्रेष्ठ, परिसंघबाट निवर्तमान अध्यक्ष अग्रवाल र महानिर्देशक घनश्याम ओझा तथा चेम्बरबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार