काठमाडौं : दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त र जलवायु–उत्तरदायी लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित कुमारी बैंक लिमिटेडले जर्मनीको प्रतिष्ठित वित्तीय संस्था डोइचे स्पारकासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक साझेदारी गरेको छ।
जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन हुने क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको यो सम्झौताले नेपालमा दिगो बैंकिङ, हरित वित्त तथा सामाजिक–पर्यावरणीय उत्तरदायित्वलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डोइचे स्पारकासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनका एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका छन्। साझेदारीलाई दुई चरणमा कार्यान्वयन गर्दै बैंकको हरित बैंकिङ अभ्यासलाई संस्थागत, विस्तार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गरिनेछ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलका अनुसार यो सम्झौता बैंकको दिगो बैंकिङ यात्रामा महत्वपूर्ण उपलब्धि हो। डोइचे स्पारकासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनको प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी (नेपाल हरित वित्त वर्गीकरण) को मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ प्रक्रिया अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुसार परिमार्जन गर्दै हरित वित्त, न्यून–कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलता प्रवर्द्धनमा थप योगदान दिने लक्ष्य लिएको छ।
सम्झौताअनुसार डोइचे स्पारकासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले आफ्ना ईएसजी रिस्क राडार र सस्टेनेबल फाइनान्स कम्पास लगायतका विशेष प्राविधिक प्रणाली उपलब्ध गराउँदै आवश्यक प्राविधिक सहयोग गर्नेछ। साथै ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यमको हरित क्षमता अभिवृद्धिका लागि डिस्क बिजनेस गेम समेत सञ्चालन गरिनेछ।
देशभर २८६ शाखा, ३०३ एटिएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पिओएस टर्मिनलमार्फत सेवा दिँदै आएको कुमारी बैंकले यस साझेदारीमार्फत दिगो बैंकिङ अभ्यासलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ।
बैंकका अनुसार ग्राहक–केन्द्रित नवप्रवर्तन, पारदर्शी सुशासन र अन्तर्राष्ट्रिय सहकार्यमा आधारित यो साझेदारीले नेपालको दिगो आर्थिक विकास, हरित वित्तीय प्रणाली तथा जलवायु–उत्तरदायी भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।








