काठमाडौं : औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा निजामती अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीपा ढुंगाना, लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध दुई करोड ९१ लाख बिगो कायम गरिएको छ।
औषधि आपूर्तिकर्तासँग साँठसाँठ गरी औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री गरेर भ्रष्टाचार गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।
औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभए पनि बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङमा करोडौँको औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो ।
अनुसन्धानको क्रममा उनीहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई सार्वजनिक सम्पत्तिको हिनामिना, हानीनोक्सानी पुर्याउने काम गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।








