संविधान संशोधनमा सरकार हल्का देखियो : गगन थापा

२०८३ असार २५, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान संशोधनको विषयलाई अत्यन्त हल्का, अपरिपक्व र सतही ढंगले अघि बढाएको टिप्पणी गरेका छन्।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्को विद्यमान गणितका आधारमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारे। सरकार गठनका लागि बनेको संसदीय समीकरणलाई संविधानसभाको अधिकारसरह प्रयोग गर्न खोज्नु उचित नहुने उनको भनाइ थियो।

‘सरकार बनाउनका निम्ति निर्माण भएको संसद्ले मसँग भएको गणितको आधारमा म संविधानसभाको जस्तो अभ्यास गर्छु भनेर ठान्यौँ भने त्यो गलत हुन्छ,’ थापाले भने। थापाले संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलको औचित्यमाथि पनि प्रश्न उठाए। सरकारले कुन समस्या समाधान गर्न वा कुन विषय सुधार गर्न संशोधन आवश्यक परेको हो भन्ने स्पष्ट प्राथमिकता निर्धारण गर्न नसकेको उनको आरोप छ।

उनले भने, ‘हामीले एकैपटक संविधान संशोधनको विषयमा प्रवेश गर्न थालेको जस्तो देखिन्छ। तर सरकारले कुनै निश्चित समस्या समाधान गर्ने स्पष्ट उद्देश्यसहित संशोधनको प्रस्ताव ल्याएको हामीले देखेका छैनौँ। यही हाम्रो मुख्य चिन्ता हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार