काठमाडौं : वाणिज्य बैंकहरूले साउन महिनाका लागी व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।
सार्वजनिक दरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशतदेखि ५.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् भने संस्थागत निक्षेपमा ३ प्रतिशतदेखि ३.७५ प्रतिशतसम्म ब्याज दिने भएका हुन् ।
सार्वजनिक विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ५.७५ प्रतिशत ब्याजदर प्रभु बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकले दिएका छन् । त्यस्तै ५.५० प्रतिशत ब्याजदर राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले कायम गरेका छन् ।
नेपाल बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकले ५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। कृषि विकास बैंकले ४.७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.२५ प्रतिशत तथा सिटिजन्स बैंकले ४.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ भने अधिकांश बैंकको ब्याजदर ३ प्रतिशतदेखि ३.७५ प्रतिशतबीच रहेको छ । सबैभन्दा बढी ३.७५ प्रतिशत ब्याजदर एभरेष्ट बैंकले दिएको छ । प्रभु बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले ३.५० प्रतिशत, कुमारी बैंक र सानिमा बैंकले ३.३० प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.२५ प्रतिशत तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले प्रत्येक महिना व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा सीमित परिमाणमा मात्र परिवर्तन गर्न पाउने व्यवस्था छ ।





