काठमाडौँ : विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार सजाय निर्धारण गर्दै दुवै जनालाई जनही ८ वर्ष कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।
सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक जस्तो सार्वजनिक पदमा बहाल रहेकाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत सुनाइएको छ । यससँगै पौडेलले कुल ८ वर्ष ६ महिना जेल बस्नुपर्नेछ । यस्तै, दुवै प्रतिवादीहरूबाट जनही ६ लाख १७ हजार ८ रुपैयाँ असुल गरी ‘अपराध पीडित राहत कोष’ मा जम्मा गर्न समेत अदालतले आदेश दिएको छ ।





