राजनीतिमा अधिनायकवादी सोच र जनताको आवाज दबाउने चरित्र बढ्यो : आङ्देम्बे

२०८३ श्रावण १, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बले नेपाली राजनीतिमा निरङ्कुश शासकीय प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

साउने सङ्क्रान्ति तथा सिसेःक्पा तङ्नामको अवसरमा शुभकामना सन्देश जारी गर्दै निमुखा र निर्धन जनताको आवाज दबाउने चरित्र बढ्दै गएकोप्रति लोकतन्त्रप्रेमी सबै सचेत हुनुपर्ने अवस्था आएको बताएका छन्।

उनले भनेका छन्, ‘यी पर्वहरूले समाजका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छन्। तर विडम्बना, आज नेपाली राजनीतिमा निरङ्कुश शासकीय प्रवृत्ति, अधिनायकवादी सोच, नागरिक अधिकारमाथिको हस्तक्षेप तथा निमुखा र निर्धन जनताको आवाज दबाउने चरित्र बढ्दै गएकोप्रति लोकतन्त्रप्रेमी सबै सचेत हुनुपर्ने अवस्था छ।’

साउने सङ्क्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गरे झैँ अब हामीले लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई पनि सदाका लागि बिदा गर्नुपर्ने उनको भनाइ छ।

जनता नै सार्वभौमसत्ताको स्रोत भएकाले लोकतान्त्रिक मान्यतालाई व्यवहारमा स्थापित गर्दै संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माण गर्नुपर्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार