देशलाई भड्खालोमा जान दिँदैनौँ : सभापति थापा

२०८३ श्रावण ३, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले बहकिएर लोकतन्त्र, संविधान र नागरिक अधिकारमाथि असर पर्ने निर्णय गरे कांग्रेसले सदनदेखि सडकसम्म संघर्ष गर्ने बताएका छन् ।

पोखरा पुगेका सभापति थापाले लोकतान्त्रिक व्यवस्था कमजोर पार्ने कुनै पनि कदम कांग्रेसलाई स्वीकार्य नहुने बताए।

उनले भने, ‘सरकारलाई आफ्नो पाँच वर्षे जनादेशअनुसार शासन सञ्चालन गर्ने अधिकार भए पनि लोकतन्त्र र विधिको शासनमाथि खेलबाड गर्ने छुट छैन । सरकारले कहिलेकाहीँ उत्तेजनामा गएर, बहकिएर चाहिने-नचाहिने निर्णय गर्छ । त्यो बेला हामी पनि उत्ताउलो भएर प्रतिक्रिया दिने होइन, देशलाई सम्हाल्ने काम गर्छौँ । देशलाई कुनै अर्को भड्खालोमा जान दिनुहुन्न ।’

संविधानको सर्वोच्चता र लोकतान्त्रिक प्रणालीको रक्षा कांग्रेसको पहिलो जिम्मेवारी रहेको उल्लेख गर्दै लोकतन्त्रमाथि कुनै खतरा आए कांग्रेसले सदन र सडक दुवैबाट प्रतिवाद गर्ने बताए । उनले थपे, ‘डेमोक्रेसीको कुरा तलमाथि हुने कुरामा नेपाली कांग्रेसलाई त्यो स्वीकार्य हुँदैन । जहाँ लड्नुपर्छ, त्यहाँ लड्छौँ । विधिको शासन र नागरिक अधिकारमाथि हस्तक्षेप हुन दिँदैनौँ ।’

संविधान, कानुन, नेतृत्व र कार्यान्वयन सबै पक्षको समीक्षा गरेर आवश्यक सुधार गर्नुपर्ने बताए। प्रदेश सरकारको संरचना पनि आवश्यकताअनुसार सानो बनाउनुपर्नेमा जोड दिए । कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशमा कुनै पनि प्रकारको राजनीतिक दुर्घटना, द्वन्द्व वा अस्थिरता आउन नदिन संयमित भूमिका खेल्ने दायित्व पार्टीको रहेको बताए।

उनले विगतमा संविधान निर्माणका क्रममा कांग्रेसले सबै पक्षलाई समेटेर मुलुकलाई संकटबाट जोगाएको जिकिर गर्दै अहिले पनि त्यही जिम्मेवारी निर्वाह गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार