काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सडक र सदनको दुवै मोर्चालाई अघि बढाउनुपर्ने बताएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै दुई वटै मोर्चालाई प्रभावकारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘सडक सङ्घर्षको मोर्चातिर पनि मनोबल अलि खस्किएको अवस्था छ । हामीले धक्का खाएका छौँ। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढेको हुँदैन । धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो। धक्काबाट उठेर अघि बढ्नुपर्छ ।’
उनले सडक सङ्घर्ष र संसदीय सङ्घर्ष एकअर्काका पूरक भएको बताए। अहिलेको राजनीति परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बनेको टिप्पणी गरे।
उनले थपे, ‘लोकतन्त्रमा सरकार परिवर्तनका लागि संवैधानिक, कानुनी, संसदीय बाटाहरू हुन्छन्। हिंसा, आगजनी, तोडफोड, जबरजस्ती, कब्जा, असंवैधानिक यस्ता कुराहरू हुँदैनन्। राज्य पूर्ण अनुपस्थित छ र अराजकता देखापर्दैछ।’ ओलीले सामाजिक सञ्जाल असामाजिक सञ्जालको रूपमा विकास भइरहेको बताए।
उनले भने, ‘समाजमा एउटा भयानक विकृति पैदा गर्ने काम हुँदै छ ।, विकृति फैलाउने स्वस्थ बहस होइन, सामाजिक सञ्जालबाट बहस हुन सक्छ, स्वस्थ बहस हुन सक्छ। तर कोही उत्तरदायी नहुने, दर्ता गर्न नपर्ने, जवाफदेही लिनु नपर्ने, प्रतिनिधि तोक्नु नपर्ने र निराधार असत्य कुराहरू प्रचार गरिरहने काम हुँदै छ।’





