काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकारको गैरजिम्मेवारीपनका कारण संसद् र सामाजिक सञ्जाल फेसबुकबीचको अन्तर हराउँदै गएको टिप्पणी गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साम्पाङले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दाहरूमा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाएका हुन् ।
संसद्को गरिमा र प्रभावकारितामाथि प्रश्न उठाउँदै उनले भने, ‘संसद्मा हामी बोलिरहेका छौं, तर त्यो संसद् पनि अहिले कस्तो भएको छ भने बोल्ने ठाउँ मात्रै भएको छ । फेसबूक र संसद् एउटै लाग्न थाल्यो अहिले । फेसबूकमा पनि बोल्छु, बोलेर केही हुँदैन । संसद्मा पनि बोल्छु, बोलेर केही हुँदैन । जबसम्म सरकार जवाफदेही बन्दैन, तब केही पनि हुँदैन रहेछ ।’
प्रधानमन्त्री संसद्मा नआउने र आए पनि अत्यन्तै कम समय मात्र बस्ने गरेकोमा उनले आपत्ति जनाए ।





