काठमाडौँ : प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विद्युतमा लगाएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै आङ्देम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
आङ्देम्बेले भने, ‘नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्कालका लागि लागू नगर्ने निर्णय गरेर जनभावनाको सम्मान गरेको छ। सरकारको यो कदम स्वागतयोग्य छ। अब सरकारले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तालाई ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तोकिएकोमा त्यो फिर्ता लिनुपर्छ।’
उनले विद्युत् अहिलेको समयमा विलासिताको वस्तु नभई आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारको नीति नै परस्पर विरोधाभासी देखिएको बताए।





