काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा रहेको बताएका छन्।
बीपी कोइरालाको ३४ औँ स्मृति दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले सरकारको कार्यशैलीप्रति व्यंग्य गरेका हुन्। ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने हो’ थापाले भने।
रास्वपाको चितवनमा आयोजित महाधिवेशनमा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए। शाहको भनाईप्रति व्यंग्य गर्दै उनले प्रतिपक्षको सक्रियतालाई पनि ‘ब्रेक’ विनाको दौडसँग तुलना गरेका हुन्। उनले कांग्रेस जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने बताए।
‘नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्नेछ,’ उनले भने, ‘जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको छ। त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेट्ने छौँ।’
उनले बीपी कोइरालाको स्मृतिको अवसरमा कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको जानकारी दिए। त्यो कोषमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ। कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा बुधबार बिहान यूएन पार्कमा ‘ग्रिन रन’ प्रतियोगिता पनि गरेको थियो।





