हेटौँडा : बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का ६ जना मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएका छन्।
आजकै मितिदेखि लागू हुने गरी एमालेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्। मन्त्रीहरूको राजीनामासँगै एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पार्टीको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। साथै, उक्त राजीनामा तत्काल स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।
सरकारबाट राजीनामा दिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री (यातायात) जयराम थापा, कृषि मन्त्रालय (वन तथा वातावरण) का मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री (स्वास्थ्य) किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ छन्।





