काँग्रेसको इतर समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने

२०८३ श्रावण ६, बुधबार

काठमाडौँ : नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दबाब बढाउँदै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित छुट्टै कार्यक्रममा समूहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको हो ।

इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशन एकताबद्ध वातावरणमा सम्पन्न हुनुपर्ने धारणा राखे ।

विशेष र नियमित महाधिवेशनका कारण काँग्रेस विभाजनको अवस्थामा पुगेको उल्लेख गर्दै उनले पार्टीलाई पुनः एकताबद्ध बनाउने पहल आवश्यक रहेको बताए ।

उनले पार्टीभित्र सहमतिको वातावरण बनाउन नेतृत्व पक्षले पहल गर्नुपर्नेमा जोड दिए । विशेष महाधिवेशनको प्रक्रियामार्फत सभापति गगनकुमार थापाले पार्टी नियन्त्रणमा लिएको आरोपसमेत इतर समूहका नेताहरूले लगाएका छन् ।

समूहका नेताहरूले साउन महिनाभित्र पार्टीभित्र सहमतिको प्रयास नभए नयाँ राजनीतिक विकल्पबारे निर्णय लिन सकिने संकेत गरेका छन् । नेतृत्वले एकताका लागि पर्याप्त पहल नगरेको भन्दै उनीहरूले राष्ट्रिय भेलामार्फत आगामी रणनीति तय गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार