जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

२०८३ श्रावण ६, बुधबार

कर्णाली : आमनेपालीले जुम्लामा उत्पादन भएका स्याउ रुचाउन थालेका छन् ।

चिकित्सक स्याउलाई उच्चकोटीको फल मान्दछन् । स्याउको बोक्रा नतासिकन खाँदा पर्याप्तमात्रामा फाइबार पाइने भएकाले पेटसम्बन्धी रोग नलाग्ने बताइन्छ । जुम्लामा गत आव २०८२-८३ मा एक करोड ८२ लाख ४५ हजार केजी स्याउ उत्पादन भएको थियो । उत्पादनको झन्डै ७० प्रतिशत स्याउ नेपाली बजारमानै खपत भएको छ ।

सो आर्थिक वर्षमा एक करोड २६ लाख ५४ हजार केजी स्याउ नेपाली बजारमा खपत भएको छ । उत्पादनको करिब ३० प्रतिशत अर्थात् ५५ लाख ९१ हजार केजी स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए ।

भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले रु ४१ करोड ३७ लाख ३४ हजार आम्दानी गरेको छ । प्रतिकेजी ७४ मा स्याउ बिक्री गरी जुम्लाले उक्त आम्दानी गरेको हो । भारतमा जुम्लाको स्याउलाई ‘पहाडीय चिसो स्याउ’ भनेर त्यहाँका उपभोक्ताले रुचाउने गरेको अधिकारीले बताए।

कृषि विकास कार्यालय, जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालु आव २०८३-८४ मा भारततर्फ झण्डै ८० करोडको स्याउ निर्यात गर्न दुई करोड ७० हजार केजी स्याउ उत्पादन गर्ने लक्ष्यअनुरूप स्याउ उत्पादनलाई प्राथमिकता दिइएको छ । स्याउका दान हेर्दा आकर्षक नदेखिए पनि खाँदा गुलियो स्वाद भएकै कारण नेपाली तथा भारतीय बजारमा ‘जुम्ली स्याउ’को माग अकासिँदै गएको तथ्यांकबाट पुष्टि हुन्छ ।

जुम्लामा झण्डै चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ । चालु आवमा झण्डै १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी थप क्षेत्रफलमा स्याउखेती विस्तार गरिने लक्ष्य छ ।

अधिकारीले भने, ‘गत वर्षभन्दा यस वर्ष स्याउको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले गत पुसदेखि माघसम्म यहाँका ८०० किसानलाई स्याउ बगैँचा काँटछाँटको अभियान चलाएका छौँ । यसले स्याउको दाना ठूला, पोटिला, स्वादिष्ट, रङसहित आकर्षक हुने र किसानले उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार