काठमाडौँ : पाकिस्तानमा मनसुन सुरु भएयता परेको अविरल वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । यसका साथै ३४४ जना घाइते भएका छन् भने सयौँ घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार जुन महिनाको अन्त्यदेखि सुरु भएको वर्षासँग सम्बन्धित घटनामा सबैभन्दा बढी खैबर पख्तुनख्वा प्रान्तमा ५५ जनाको मृत्यु भएको छ। त्यसपछि पञ्जाब प्रान्तमा ३६ जनाले ज्यान गुमाएका छन्। अधिकांश मृत्यु घर वा छानो भत्किएर पुरिने घटनाका कारण भएको जनाइएको छ।
पञ्जाब प्रान्तको राजधानी तथा पाकिस्तानको दोस्रो ठुलो शहर लाहोरमा बाढी प्रभावितलाई सुरक्षित स्थानमा राख्न कम्तीमा १७ वटा राहत शिविर स्थापना गरिएको छ। पञ्जाब सिँचाइ विभागका एक वरिष्ठ अधिकारीका अनुसार लाहोर र गुजराँवाला क्षेत्रमा करिब ४०० वर्ग किलोमिटर भूभाग पानीले डुबानमा परेको छ।
उनले अहिलेको अवस्था विशाल भित्री समुद्रजस्तै देखिएको बताएका छन्। पञ्जाबकी मुख्यमन्त्री मरियम नवाज शरीफले आपत्कालीन उद्धार टोलीलाई प्रदेशभर परिचालन गरिएको र डुबान क्षेत्रबाट पानी निकास गर्ने काम तीव्र रूपमा भइरहेको जानकारी दिएकी छन् । पाकिस्तान मौसम विभागका अनुसार मंगलबारसम्म ठुलो बाढी आउने सम्भावना नरहे पनि बुधबारदेखि नयाँ वर्षा प्रणाली सक्रिय हुने अनुमान गरिएको छ।
यसको प्रभाव इस्लामाबाद, माथिल्लो पञ्जाब, पाकिस्तान प्रशासित कश्मीर, खैबर पख्तुनख्वा तथा गिलगिट–बाल्टिस्तान क्षेत्रमा पर्ने जनाइएको छ। विभागका अनुसार हाल रावी नदी मध्यम तहको बाढीमा बगिरहेको छ भने अन्य अधिकांश ठुला नदीमा पानीको बहाव सामान्यदेखि न्यून स्तरमा रहेको छ।
अधिकारीहरूले नदी किनार र होचा भूभागका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्। विश्लेषकहरूका अनुसार तीव्र शहरीकरण र अव्यवस्थित बस्ती विस्तारका कारण पाकिस्तानका धेरै शहर बाढीको उच्च जोखिममा परिरहेका छन्। गत वर्ष पनि पाकिस्तानमा भीषण बाढीका कारण १ हजार ३७ जनाको मृत्यु भएको थियो भने करिब २० लाख मानिस विस्थापित तथा लाखौं चौपाया मरेका थिए । साथै ठुलो परिमाणमा खेतीबालीमा समेत क्षति पुगेको थियो।





