काठमाडौँ : अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट अफ सियाटल’ फुड फेस्टिभलमा आइतबार साँझ भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने दुई वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने आक्रमणकारी पक्राउ परेका छन् वा छैनन् भन्नेबारे तत्काल जानकारी दिएको छैन ।
सहरको फायर डिपार्टमेन्टकी प्रवक्ता ग्रेस नुनेजका अनुसार गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते पाँच जनालाई हार्बरभ्यू मेडिकल सेन्टरमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये ५६ वर्षीया महिलाको अवस्था गम्भीर छ भने दुई वर्षीय बालक, २३ वर्षीय पुरुष र ३९ वर्षीया महिलाको अवस्था स्थिर रहेको जनाइएको छ । अर्की ४० वर्षीया महिलालाई सामान्य चोट लागेको छ ।
वार्षिक रूपमा आयोजना हुने यस महोत्सवमा सयौँ खाद्य तथा खुद्रा व्यवसायी, कलाकार र ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए ।
स्थानीय समयअनुसार साँझ करिब ६ बजे कार्यक्रम समापनतिर अघि बढिरहेका बेला गोली चलेपछि सहभागीहरू भागाभाग गर्न बाध्य भएका थिए । त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरी सियाटल सेन्टर परिसर खाली गराइएको थियो ।
वासिङ्टन राज्यका गभर्नर बब फर्गुसनले घटनाबारे नियमित जानकारी लिइरहेको र स्थानीय प्रहरीलाई सहयोग गर्न राज्य प्रहरीको स्वाट टोली परिचालन गरिएको बताए ।
उनले पीडितका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीको प्रशंसा गरे ।
प्रत्यक्षदर्शी फेथ आदिया हन्टरका अनुसार उहाँहरू खाना किनेर फर्किरहेका बेला अचानक गोली चलेको थियो । बन्दुकधारी नजिकै रहेको थाहा पाएपछि आफूहरू अन्य मानिससँगै नजिकैको भवनतर्फ भागेर सियाटल बाल सङ्ग्रहालयमा आश्रय लिनुभएको उनले बताए ।
अर्का प्रत्यक्षदर्शी रोबर्टो रामिरेजले सुरुमा पटाका पड्किएको जस्तो आवाज सुने पनि केहीबेरमै मानिसहरूले ‘शूटर’ भन्दै चिच्याउँदै भाग्न थालेपछि स्थिति स्पष्ट भएको बताए ।
उनका अनुसार केही समयमै पूरा क्षेत्र खाली भएको थियो र मानिसहरू त्रसित बनेका थिए ।
एस्टान वाकोनाबोले आफू प्रेमिकासँग फोटो बुथको लाइनमा रहेका बेला भीड एक्कासि भाग्न थालेको र त्यसपछि लगातार गोली चलेको आवाज सुनेको बताए।
उनका अनुसार भागदौडका क्रममा मानिसहरू लडिरहेका, बालबालिकाका स्ट्रोलरसमेत पल्टिएका र घटनास्थलमा धेरै घाइते देखिएका थिए ।
सन् १९८२ देखि आयोजना हुँदै आएको ‘बाइट अफ सियाटल’ तीनदिने खाद्य तथा सांस्कृतिक महोत्सव हो । आयोजकका अनुसार यस कार्यक्रममा हरेक वर्ष करिब तीन लाख ५० हजार सहभागी हुने गरेका छन् ।





