नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? : गगन थापा

२०८३ श्रावण ११, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

आइतबार जारी प्रेस विज्ञप्तिमा थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था सिर्जना भएको विषयमा सरकारसँग प्रश्न गरेका छन् । ‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपथ्र्यो,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले परिस्थितिको समयमै मूल्यांकन गरी पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउन नसक्दा नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद भएको बताएका छन् ।

‘यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस्,’ थापाले माग गरेका छन् ।

उनले प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिको संवेदनशील र जिम्मेवार व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् । साथै, अफवाह वा उत्तेजनामा नलागी सामाजिक सद्भाव कायम राख्न स्थानीयवासी, नागरिक समाज, सामुदायिक संस्था तथा राजनीतिक दललगायत सबै पक्षलाई अपिल गरेका छन् ।

‘यस कठिन घडीमा संयमता र सद्भाव महत्त्वपूर्ण रहन्छ । कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न तथा सामाजिक सद्भाव कायम राख्न सबैमा हार्दिक अपिल गर्दछु,’ थापाले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार