जापानमा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

२०८३ भाद्र ७, आईतवार

काठमाडौँ : जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टोकियो क्षेत्रसम्म महसुस गरिएको भूकम्पबाट कम्तीमा पाँच जना घाइते भएका छन् । भूकम्पपछि सुनामीको खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रान्तको दक्षिणी क्षेत्रमा केन्द्रबिन्दु रहेको भूकम्प जमिनको सतहबाट ७० किलोमिटर गहिराइमा गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्पको प्रारम्भिक म्याग्निच्युड ५.८ मापन गरेको छ । जापानको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार इबाराकी, चिबा र साइतामा प्रान्तमा कम्तीमा पाँच जना घाइते भएका छन् ।

अन्य घाइतेको विवरण संकलन भइरहेको बताइएको छ । भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रका केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । तर, शिन्कान्सेन बुलेट ट्रेन सेवा भने सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

भूकम्पपछि टोकियोको पूर्वी कोटो क्षेत्रमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो । यस्तै, करिब ४६० घरमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि आइतबार बिहानसम्म सेवा पुनः सञ्चालन गरिएको टेप्को पावर ग्रिडले जनाएको छ । सरकारले सम्भावित क्षतिको विवरण संकलन र मूल्यांकनका लागि कार्यदल गठन गरेको प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

यता, जापानको आणविक नियमन प्राधिकरणले करिब एक दर्जन आणविक ऊर्जा केन्द्र तथा आणविक पदार्थसँग सम्बन्धित अन्य संरचनामा कुनै असामान्य अवस्था नदेखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार