गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

२०८३ श्रावण १७, आईतवार

काठमाडौँ : युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ। शनिबार रातभर भएका आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो। उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन्।

यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ। गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निशानामा परेका थिए।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएका नागरिक सुरक्षा प्रवक्ताले बताएका छन्।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ। त्यसैगरी, दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य ८ जनाको मृत्यु भएको थियो। ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निशाना बनाइएको अधिकारीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार