विराटनगर : कोशी प्रदेश सरकारले प्रशासनिक क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै देशमै पहिलोपटक एकीकृत सरुवा व्यवस्थापन प्रणाली (Integrated Transfer Management System – ITMS) कार्यान्वयनमा ल्याएको छ । कर्मचारी सरुवा प्रक्रियालाई प्रविधिमैत्री, पारदर्शी र अनुमानयोग्य बनाउने उद्देश्यले यो प्रणाली सुरु गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद रिसालका अनुसार यो प्रणालीको सुरुवातसँगै प्रदेशको प्रशासनिक सुधारमा महत्त्वपूर्ण इँटा थपिएको छ । कोशी प्रदेशको सुशासन तथा डिजिटल रूपान्तरण अभियानअन्तर्गत सामाजिक विकास मन्त्रालयले भदौ पहिलो सातादेखि यस प्रणालीमार्फत कार्यसम्पादन सुरु गरिसकेको छ । सामाजिक विकास मन्त्रालयका सचिव विष्णुप्रसाद कोइरालाले प्रणालीमार्फत सरुवाको निर्णय गरी यसको औपचारिक शुभारम्भ गरेका छन् ।
मुख्यमन्त्री कार्यालयका कम्प्युटर अधिकृत विनय भास्कर दत्तका अनुसार प्रदेश तहमा कर्मचारी सरुवाका लागि एकीकृत डिजिटल प्रणाली प्रयोग गरिएको यो नेपालमै पहिलोपटक हो । यस प्रणालीले कर्मचारी सरुवामा हुने कागजी झन्झट, ढिलासुस्ती र व्यक्तिगत पहुँचका आधारमा हुने निर्णयलाई निरुत्साहित गरी प्रक्रियालाई प्रमाणमा आधारित र पारदर्शी बनाउनेछ ।






