काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ पहिलो महिना नेपालमा करिब पौने २ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार बराबरको २४ हजार ९ सय ३९ टन (२ करोड ४९ लाख ३९ हजार ३ सय ६६ किलो) धान तथा चामल आयात भएको हो ।
गत आवको तुलनामा यो वर्ष धानचामल आयातमा गिरावट आएको छ । गत आव २०८२/८३ साउनमा नेपालले २ अर्ब ९२ करोड ८३ लाख ६२ हजार बराबरको ५७ हजार ८३ टन धानचामल आयात गरेको थियो । तथ्यांक विश्लेषण गर्दा गत आवको तुलनामा चालु आव पहिलो महिना आयातित परिमाण र बाहिरिएको रकम दुवैमा गिरावट आएको छ ।
चालु आव साउनमा आयात भएका विभिन्न प्रकारका धान तथा चामलको विस्तृत विवरण हेर्दा सबैभन्दा बढी रकम चामल खरिदमा बाहिरिएको छ । यस अवधिमा ८३ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको ११ हजार ८ सय ५२ टन चामल आयात भएको छ । यसमध्ये करिब सम्पूर्ण हिस्सा अर्थात् ११ हजार ८ सय ५१ टन छिमेकी भारतबाट भित्रिएको छ भने नगन्य मात्रामा (शून्य दशमलव २४ टन अर्थात् २ सय ४० किलो) इटालीबाट आएको छ ।






