काठमाडौँ : गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ।
शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र नजिकैका छाप्राहरू भग्नावशेषमा पुरिए।
यस दुर्घटनामा छ जना गम्भीर घाइते भएका छन् भने कैयौँ घरहरू ध्वस्त भएका छन्। भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी छ।
घटनालगत्तै उद्धार टोली घटनास्थल पुगेर भग्नावशेष पन्छाउने र पुरिएका मानिसहरूलाई एम्बुलेन्समार्फत अस्पताल लैजाने काम गरिरहेको छ। केही सवारीसाधनहरू पनि भग्नावशेषमा पुरिएका छन्।






