काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका तीन सांसदलाई पदमुक्त उपसभामुखलाई पत्र पठाएको छ।
सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सभा उपसभामुखलाई पत्र पठाएका हुन्। राप्रपाले सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न पत्र पठाएको हो। उनीहरू तीन जना मन्त्री बनेका छन्।
अध्यक्ष लिङ्देनले पठाएको पत्रमा पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप उल्लंघन गरेको र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको उल्लेख गरेका छन्।
यसअघि सोमबार नै राप्रपा अध्यक्ष लिङ्देनले प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न पत्र पठाएको थियो। उक्त पत्र राप्रपा मुख्य सचेतक कुमारी तामाङले उपभामुख अप्सरा चापागाईंलाई बुझाएकी थिइन्।
थप तीन सांसदलाई पदमुक्त गर्न पठाएको पत्रसँगै विभिन्न आठ वटा कागजात पनि बुझाएको छ। केन्द्रीय अनुशासन समितिको सिफारिश बमोजिम पदमुक्तका लागि पठाएको पत्र उपसभामुख चापागाईंलाई बुझाइएको छ।







