कृषि विकास बैंकका कर्मचारीहरुबाट १ करोड ५३ लाख सहयोग

२०८३ भाद्र ३०, मंगलवार

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले आफ्नो मासिक तलबबाट रकम कट्टा गर्दै सहयोग गरेका छन्।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मासिक तलबबाट कट्टा गरिएको १ करोड ५३ लाख ९५ हजार २२ रुपैया बैंकका तर्फबाट बाढीपीडितका लागि सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

मंगलबार उक्त सहयोग रकमको चेक कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र बैंकका अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले समक्ष हस्तान्तरण गरेका छन्।

बाढीका कारण भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकका कर्मचारीहरूले आफ्नो पारिश्रमिकबाट रकम योगदान गरेका हुन्।

कृषि विकास बैंकका कर्मचारीहरुले विपद्को समयमा गरेको यो सहयोगले प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा केही हदसम्म टेवा पुग्ने अपेक्षा गरिएको छ। कर्मचारीहरूको सामूहिक योगदानबाट संकलित उक्त रकम बाढीपीडितको राहत तथा आवश्यक सहयोगमा उपयोग गरिने जनाइएको छ।

भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति कृषि विकास बैंकले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको छ। बैंकले यस कठिन घडीमा पीडित तथा प्रभावित समुदायको साथमा रहेको पनि जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार