काठमाडौँ : गरिमा विकास बैंकले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका अनुसार उक्त रकममध्ये कर्मचारीहरूको तर्फबाट एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ र बैंकको तर्फबाट ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ गरी कुल ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।
बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रमका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले १० भदौमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको हो । गरिमा विकास बैंकले बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै विपत्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी तथा सुरक्षानिकाय, गैरसरकारी संस्था र अन्य सरोकारवालाबीचको सहकार्यबाट राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सकिने जनाएको छ ।








