काठमाडौं : फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको दोस्रो धेरै कमाउने फिल्म बनेको छ । प्रदर्शनको २६औँ दिनमा फिल्म ‘लालीबजार’को रेकर्ड तोड्दै ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा उक्लिएको हो ।
गत वैशाख २५ गते रिलिज भएको ‘लालीबजार’ले लाइफटाइम ९ करोड ३२ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै यस वर्षको दोस्रो धेरै कमाउने फिल्मको स्थान बनाएको थियो । गत भदौ २६ गतेदेखि प्रदर्शनरत ‘पेन्सन पट्टा’ले मंगलबारसम्म ९ करोड ३४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको रिपोर्टमा उल्लेख छ ।
यससँगै ‘पेन्सन पट्टा’ले ‘लालीबजार’को कलेक्सनलाई उछिनेको हो । यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको शीर्ष स्थानमा भने ‘गौँथली’ रहेको छ । फिल्मले २६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।









