काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले ‘ट्यालेन्ट हन्ट’बाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आफ्नो आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ ।
उनी यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन् । यसैगरी ‘ट्यालेन्ट हन्ट’बाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ ।
छनोट भएका ६ खेलाडी सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन् । सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनको निम्ति गरेको ‘ट्यालेन्ट हन्ट’मा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो ।
विभिन्न जिल्लामा सञ्चालन भएको ‘ट्यालेन्ट टन्ट’को अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा गरिएको थियो ।










