काठमाडौँ : शुक्रबारदेखि चलचित्र ‘अक्षरा’ सिनेमाघरमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिजको अवसरमा ‘अक्षरा’ ले प्रदर्शन सुरु गरेको हो।
‘अक्षरा’ र ‘टनेल २६’ एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहे पनि अन्तिम समयमा ‘टनेल २६’ को प्रदर्शन स्थगित भएपछि ‘अक्षरा’ले एकल रिलिजको अवसर पाएको हो।
केन्द्रीय चलचित्र जाँच समितिले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी यो चलचित्रलाई ‘युनिभर्सल’ (‘यू’) प्रमाणपत्र दिएको छ। अभिभावकले छोरीको इच्छाविपरीत जबरजस्ती विवाह गरिदिँदा निम्तिने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावको कथामा चलचित्र आधारित छ।
चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायतका कलाकारको अभिनय छ।










