काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ ।
नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्धन तथा विकासमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ ।
आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ ।
ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ ।
ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै खाताबाट रकम स्थानान्तरण तथा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । डिजिटल बैंकिङ प्रणालीप्रति ग्राहकहरूको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बताइएको छ ।
बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित (क्यासलेस) कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।










