काठमाडौं : पार्टी पुनगर्ठन र नेतृत्व हस्तान्तरणको मुद्दा आफूअनुकूल सुल्झाएपछि एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनलगायतका विषयमा रणनीति बनाउन राष्ट्रिय भेला बोलाएका छन् ।
एमाले केन्द्रीय संगठन विभागका अनुसार आगामी २–३ मंसिरमा काठमाडौंमा राष्ट्रिय भेला हुँदै छ । भृकुटीमण्डपमा आयोजना गरिने भेलामा तीन हजार १६४ जना प्रतिनिधि सहभागी हुनेछन् । केन्द्रीय प्रचार विभाग प्रमुख नीरज आचार्यले व्यवस्थापकीय तयारीबारे मंगलबार छलफल भएको बताए ।
छलफलमा उपमहासचिव लेखराज भट्ट, सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतसहित उपत्यकाका पार्टी कमिटी तथा जनसंगठनका पदाधिकारी तहका नेता सहभागी थिए । उपमहासचिव भट्टले पार्टीका नीति, पारित दस्ताबेज र वर्तमान राजनीतिक परिस्थितिलाई केन्द्रमा राखेर भेला गर्न लागिएको बताए ।
पार्टी सचिव तथा संगठन विभाग प्रमुख ढकालका अनुसार भेला अभिमुखीकरणमूलक हुनेछ । २ मंसिरको बिहान ११ बजे सुरु हुने भेला भोलिपल्ट साँझसम्म सञ्चालन हुनेछ । ढकालका अनुसार भेलामा ३४६ केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ सहभागी हुनेछन् ।
त्यस्तै, केन्द्रीय सम्पर्क समन्वय कमिटी, ७७ जिल्ला कमिटी, सात प्रदेश सम्पर्क कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लाबाट गरी जिल्ला तहका ४४० जनाको सहभागिता रहनेछ । पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एकजनाका दरले एक हजार ५०६ सहभागी हुनेछन् ।
त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभाका ३५, प्रदेश सभा सदस्य १५५, स्थानीय तहका प्रमुख १९६, उपप्रमुख ३४२ तथा जनसंगठनबाट ९६ जना सहभागी हुने एमालेले जनाएको छ ।










