काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालय सञ्चालनका लागि घर वा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।
पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै रास्वपाले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्ने तयारी गरेको हो।
रास्वपाले बुधबार सूचना जारी गर्दै पार्टीको केन्द्रीय समितिले ०८३ असोज १७ गते गरेको निर्णयअनुसार हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न घरजग्गा खरिद गर्न लागिएको जनाएकाे छ ।
रास्वपाले यस प्रयोजनका लागि आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा भवन निर्माण गर्न पुग्ने जग्गा आवश्यक रहेको जनाएको छ।
पार्टीले इच्छुक घरधनी तथा जग्गाधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र तोकिएका सर्त तथा मापदण्ड पूरा गरी प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। घरजग्गा खरिदसम्बन्धी थप जानकारी, आवश्यक सर्त तथा मापदण्डबारे जानकारी लिन पार्टीले उपलब्ध गराएको लिंकमार्फत सम्बन्धित कागजात डाउनलोड गर्न सकिने जनाइएको छ।
आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्ने रास्वपाको यो पहललाई पार्टीको संस्थागत संरचना सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।










