कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृत्यु

२०८३ आश्विन २८, बुधबार

काठमाडौँ : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ३८१ पुगेको छ । गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार सार्वजनिक पछिल्लो विवरणअनुसार सङ्क्रमितको कुल सङ्ख्या नौ हजार ६६ पुगेको छ । सङ्क्रमितमध्ये मृत्यु हुनेको अनुपात ४८.३ प्रतिशत रहेको छ ।

बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोपले देशका सात प्रान्तका ६५ स्वास्थ्य क्षेत्रलाई प्रभावित पारेको छ । पूर्वी प्रान्त इटुरी यस प्रकोपको प्रमुख केन्द्र बनेको छ र यहाँ कुल सङ्क्रमितमध्ये ७० प्रतिशतभन्दा बढी भेटिएका छन् ।

यस भाइरसविरुद्ध अहिलेसम्म विशेष रूपमा स्वीकृत खोप वा उपचार उपलब्ध छैन । यद्यपि, यसको उपचारका लागि चिकित्सकीय परीक्षण भइरहेको छ ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप हो । विश्वव्यापी रूपमा भने यो दोस्रो ठूलो इबोला प्रकोप बनेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार