फेसबुकमा स्टाटस लेखेर मृत्युदण्ड पाएका युवालाई साउदीको सर्वोच्च अदालतबाट राहत

२०८३ आश्विन २८, बुधबार

काठमाडौं : साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा गरिएको टिप्पणीसम्बन्धी मुद्दामा श्रीलंकाका आप्रवासी कामदार अनोजन सिवारासालाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गरेको छ ।

श्रीलंकाका उपविदेशमन्त्री अरुण हेमचन्द्रले बुधबार यसबारे जानकारी दिएका हुन् । उनले फेसबुकमार्फत सजाय रद्द भएको जानकारी दिँदै यस प्रक्रियामा सहयोग गर्ने दुवै देशका अधिकारी तथा वकिललाई धन्यवाद दिएका छन् ।

२७ वर्षीय सिवारासालाई गत सेप्टेम्बरमा साउदी अरबको पुनरावेदन अदालतले इस्लाम धर्म र पैगम्बर मोहम्मदविरुद्ध आपत्तिजनक टिप्पणी गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । यस घटनाले श्रीलंकामा चिन्ता उत्पन्न गरेपछि त्यहाँको सरकारले सिवारासालाई राहत दिलाउन कूटनीतिक प्रयास थालेको थियो । अन्ततः साउदी अरबको सर्वोच्च अदालतले उनलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द गरेको हो ।

फेसबुक टिप्पणीपछि पक्राउ

सिवारासाले तमिल भाषामा पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको थियो । उनले पछि उक्त टिप्पणी हटाउनुका साथै माफी माग्दै भिडियोसमेत सार्वजनिक गरेका थिए । तर, उनले हटाइसकेको टिप्पणीको स्क्रिनसट उनका रोजगारदाता र साउदी अधिकारीसम्म पुगेको थियो । त्यसपछि उनलाई गत जुलाईमा पक्राउ गरिएको थियो ।

सामाजिक सञ्जालमा गरिएको उक्त टिप्पणीकै कारण उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको थियो । मृत्युदण्डको सजाय सुनाइएपछि श्रीलंकाली अधिकारीहरूले उनलाई राहत दिलाउन कूटनीतिक पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार