काठमाडौं : साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा बुधबार इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध ४–२ को जित दर्ता गरेको छ ।
इत्तिहाद रंगशालामा पाहुना टोली पीएसजीलाई जित दिलाउन डेसिरे डुए, ओस्माने डेम्बेले, भिटिन्हा र माग्नेस अक्लियुशले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले फर्काए । खेलको १३औँ मिनेटमा डुएको गोलमार्फत फ्रेन्च क्लब पीएसजीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै डेम्बेलेले टोलीको अग्रता दोब्बर बनाए ।
भिटिन्हाले ३२औँ मिनेटमा पीएसजीका निम्ति तेस्रो गोल गरे । ५३औँ मिनेटमा हालान्डले पहिलो गोल फर्काए । अक्लियुशले ६३औँ मिनेटमा गोल गर्दा पीएसजी ४–१ ले अगाडि बढ्यो । ७५औँ मिनेटमा हालान्डले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।
लगातार दोस्रो जितसँगै दुई खेलबाट ६ अंक जोडेको पीएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार व्यहोरेको सिटी समान खेलबाट तीन अंकका साथ १७औँ स्थानमा छ ।











