काठमाडौं : हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (कात्तिक १६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो ।
उक्त शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।











