ललितपुरका वडाध्यक्षसहित ११ जनाविरुद्ध मुद्दा दायर

२०८३ कार्तिक १५, आईतवार

काठमाडौं : भूमि प्रशासन कार्यालय, लगनखेलका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सेवाग्राहीबाट घुस लिई सरकारी अभिलेख हेरफेर गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले ललितपुर महानगरपालिका– ४ का वडाध्यक्ष सन्तोष खड्का, भूमि प्रशासन अधिकृतहरू अर्जुनदेव योङ्या र नवीनकुमार गोले, नायब सुब्बाहरू मनोज पोख्रेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदारहरू नरेन्द्र्रबहादुर बस्नेत र भक्तबहादुर राना, सहायक कम्प्युटर अपरेटर इन्दु दाहाललाई प्रतिवादी बनाएको छ । त्यस्तै, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाललाई मतियारका रूपमा मुद्दा चलाएको छ ।

उनीहरूले साबिक ललितपुर नगर वडा नं. ४ (ध) को जग्गाको अंश बुझेको भर्पाई लिखत पारित गर्ने बहानामा तीन लाख रुपैयाँ घुस लिई बाँडीचुँडी खाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । नापी कार्यालयबाट हालसाबिक भई पुनः नापीअनुसारको नयाँ स्रेस्ता र नक्सा प्राप्त भइसकेको भए पनि उनीहरूले सो विवरण लुकाएका थिए ।

भू–सेवा प्रणालीमा समेत अद्यावधिक नगरी, विनाआधार रद्द गराई, साबिककै पुरानो विवरणका आधारमा लिखत पास गराई स्रेस्ता पुर्जा तयार पारेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार