काठमाडौँ : उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताकी रजत पदक विजेता तथा राष्ट्रिय कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाको सिड्नीस्थित यात्रा रन क्लबले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी बोर्ड सदस्य सिक्का सुवाल श्रेष्ठले उक्त रकम बुधबार यहाँ आयोजित कार्यक्रममा हस्तान्तरण गरे । यस अभियानमा राखेप बोर्ड सदस्य श्रेष्ठले विशेष पहल तथा समन्वय गरेको कार्यक्रममा जानकारी दिइयो ।
आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गर्दै सङ्कलन गरिएको उक्त सहयोग रकम एरिकाको खेल विकास तथा प्रशिक्षणमा खर्च गरिने जनाइएको छ । अस्ट्रेलियाको सिड्नीमा आयोजित विशेष कार्यक्रममार्फत सहयोग अभियान सञ्चालन गरिएको थियो । श्रेष्ठले नेपालमा रहेका विभिन्न रन क्लबलाई एकताबद्ध गर्दै खेलाडीलाई सहयोग गर्ने अभियानलाई अझ व्यापक बनाउनुपर्ने भन्दै यस किसिमको सहयोगले खेलाडीलाई थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।
कराते खेलाडी एरिका गुरुङले प्राप्त सहयोगले आफूलाई थप प्रेरणा मिलेको बताउँदै सहयोग रकमले खेल तयारी गर्न मद्दत पुग्ने उल्लेख गरिन् । उनले दक्षिण एसियाली खेलकुद (साग) लगायत आगामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरिन् ।
प्राप्त सहयोग रकम एरिकाको नियमित प्राविधिक प्रशिक्षण, शारीरिक क्षमता विकास, फिजियोथेरापी, चोटपटक रोकथाम तथा पुनर्स्थापनालगायत खेल तयारीका क्षेत्रमा उपयोग गरिने बताइएको छ ।
यात्रा रन क्लब र अभियानमा संलग्न पक्षले आगामी दिनमा एरिकामा मात्र सीमित नभई अन्य नेपाली खेलाडीको विकासका लागि पनि सहयोग तथा अवसर सिर्जना गर्ने प्रतिबद्धता गरेका छन् । रासस











