काठमाडौं : भारतले नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रको विस्तारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा उक्त घोषणा गरिएको हो।
भारतले उपलब्ध गराउने कुल विकास सहायतामध्ये ५६ अर्ब रुपैयाँ अनुदानका रूपमा दिनेछ भने ऊर्जा क्षेत्रका परियोजनाका लागि १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको भारतीय रुपैयाँमा आधारित सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ।
अनुदान रकम विपद्पछिको पुनर्निर्माण र नेपालमा नयाँ पूर्वाधार परियोजना सञ्चालनमा खर्च गरिनेछ। ऊर्जा क्षेत्रका लागि उपलब्ध गराइने ऋण विभिन्न परियोजनामा परिचालन गरिने संयुक्त वक्तव्यमा उल्लेख छ। सहायता परिचालनका लागि आवश्यक परियोजना तथा कार्यविधि दुवै देशबीचको परामर्शबाट अन्तिम रूप दिइनेछ।
प्रधानमन्त्री मोदीले नेपाललाई नजिकको मित्र तथा छिमेकीका रूपमा विकास यात्रामा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका थिए।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दृष्टिकोणपत्र पनि स्वीकार गरेका छन्। उक्त दस्तावेजले नेपाल–भारत साझेदारीलाई दीर्घकालीन र भविष्यकेन्द्रित बनाउने मार्गचित्र प्रस्तुत गरेको छ।
यसमा आर्थिक तथा विकास साझेदारी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषय समेटिएका छन्। त्यस्तै, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्य विस्तार गर्ने उल्लेख छ।
दुवै नेताले नेपालमा सञ्चालन भइरहेका विकास परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्। भारतको सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठानको काममा भएको प्रगतिको स्वागत गर्दै चितवनमा भारतीय अनुदान सहयोगमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने घोषणासमेत गरेका छन्।











