गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–६, कुर्घास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मालिका मन्दिरमा मालिका पूर्णिमा मेला सुरु भएको छ ।
बैकुण्ठ चतुर्दशी तथा मालिका पूर्णिमाको अवसरमा परम्परागत रूपमा मालिका मेला सञ्चालन गरिएको मालिका मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वसँग जोडिएको कुर्घाको मालिका मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न गुल्मी, बागलुङलगायत छिमेकी जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गरेका छन् । बैकुण्ठ चतुर्दशीको अवसरमा मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ । बिहान ३-४ बजेदेखि नै दर्शनार्थीको लाम लाग्ने गरेको स्थानीय ज्ञानहरी सापकोटाले बताए ।
स्थानीय धार्मिक जनविश्वासअनुसार मालिका देवीलाई कान नसुन्ने देवीका रूपमा पुज्ने परम्परा छ । त्यसैले यहाँ आउने भक्तजनले देवीसमक्ष आफ्ना मनोकामना पूरा गर्न चिच्याएर वर माग्ने प्रचलन रहेको सापकोटाले जानकारी दिए । भक्तजनले रातभर जाग्राम बसेर पूजाआराधना गर्ने, पूर्णिमाको बिहान झिसमिसेमै स्नान गरी देवीसँग मनोकामना पूरा होस् भनी वर माग्ने र बिहान उज्यालो नहुँदै घर फर्कने परम्परा रहिआएको छ ।
आदिकालदेखि चल्दै आएको यस धार्मिक परम्पराले कुर्घाको मालिका मन्दिरलाई गुल्मी जिल्लाकै महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित गरेको छ । यहाँ लाग्ने पूर्णिमा मेलाले धार्मिक आस्थासँगै स्थानीय मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई समेत जीवन्त राख्दै आएको छ ।
मुसिकोट नगरपालिकाका प्रमुख जीवनलाल खरेलले मालिका पूर्णिमा मेला धार्मिक आस्थाको पर्व मात्र नभई स्थानीय मौलिक संस्कृति र परम्परा संरक्षण गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताए । उनका अनुसार मेलाका अवसरमा स्थानीय परम्परागत संस्कृतिमा आधारित झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने प्रचलन छ । यस्ता गतिविधिले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने नगरप्रमुख खरेलको भनाइ छ ।
मेलाका संयोजक प्रकाश थापाका अनुसार मेलाको अवसरमा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक प्रतियोगिता आयोजना गरिएका छन् । खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु ८१ हजार र द्वितीय हुने टोलीले रु ५१ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, खुला भेट्रान्स भलिबल, खुला एकल रेकर्ड नृत्य प्रतियोगिता, घैँटो फुटाउने र कुर्सी दौड प्रतियोगितासमेत सञ्चालन गरिएको छ ।
मेलाका अवसरमा मुसिकोट नगरपालिकामा कृषकले उत्पादन गरेका कृषि उपज समेटेर कृषि प्रदर्शनीसमेत आयोजना गरिएको छ । त्यसका लागि कृषकलाई आफ्ना उत्पादन प्रदर्शन गर्न निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
मालिका पूर्णिमा पर्वको अवसरमा मुसिकोट नगरपालिकाले आज सोमबार स्थानीय सार्वजनिक बिदा दिएको छ । वैकुण्ठ चतुर्दशी तथा मालिका पूर्णिमा पर्व र मालिका मन्दिरमा लाग्ने परम्परागत मेलालाई मध्यनजर गर्दै नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।
धार्मिक विश्वास, परम्परागत जात्रा, सांस्कृतिक झाँकी, खेलकुद र कृषि प्रदर्शनीलगायतका कार्यक्रमले कुर्घाको मालिका मेलालाई थप रोचक र आकर्षक बनाएको छ । रासस











