काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग मिलेर जाने सहमति भइसकेको बताएका छन् ।
गोरखा पुगेका प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट घटकसँग पनि राजनीतिक सहकार्य अघि बढाउने बताएका हुन् । उनले सदन र सडक दुवै ठाउँमा मिलेर संघर्ष गर्ने सहमति भएको उल्लेख गर्दै स्थानीय र प्रदेश निर्वाचनमा समेत संयुक्त रूपमा अघि बढ्ने नीतिगत निर्णय भइसकेको जानकारी दिए ।
प्रचण्डले सहकार्यलाई निर्वाचनमा मात्र सीमित नराखी कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै राजनीतिक केन्द्र निर्माण गर्ने प्रयास भइरहेको पनि बताए । त्यसका लागि एमालेसहित विभिन्न कम्युनिस्ट घटकसँग निरन्तर संवाद भइरहेको उनको भनाइ छ ।











