पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब ६७ रनले विजयी

२०८३ मंसिर ११, शुक्रबार

कर्णाली : दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा बिहीबार भएको खेलमा टस जितेर पहिले बलिङ गरेको गण्डकीले आर्मीलाई निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रनमा सीमित गरेको थियो । जवाफमा गण्डकी १७ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारी र कुशल मल्लले समान ३६ रन बनाए । मल्लले दुई छक्का र चार चौका प्रहार गरे भने भण्डारीले ३६ बलमा एक छक्का र तीन चौकासहित ३६ रन जोडे । बसिर अहमदले २७ र त्रितराज दासले ११ बलमा २४ रन बनाए । बलिङतर्फ गण्डकीका कप्तान विपिन खत्रीले तीन तथा कृष्ण पौडेल र सुदीप अर्यालले समान दुई विकेट लिए ।

गण्डकीका ईश्वर क्षेत्रीले २६, सोहेल कुँवरले २२ र वंश क्षेत्रीले १६ रन बनाए । आर्मीका तिलकराज भण्डारीले तीन ओभरमा १२ रन खर्चेर चार विकेट लिए । नरेश साउदले दुई र कुशल मल्लले एक विकेट लिए । तिलकराज खेलको उत्कृष्ट खेलाडी घोषित भए । जितसँगै आर्मीले प्रतियोगितामा दुई अङ्क जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार