मुस्ताङमा मार्फाली समुदायको ऐतिहासिक ‘रिसुम देवता’

२०८३ मंसिर १२, शनिबार

मुस्ताङ : अक्सर गुम्बा भन्नेबित्तिकै तलाको घरजस्तो शैलीमा निर्मित संरचना, कोठा र बुद्ध तथा पद्मसम्भवलगायत मूर्ति प्रतिष्ठापित भएको धार्मिकस्थलको चित्र मनमा आउँछ ।

तर, मुस्ताङको मार्फा गाउँमा भने स्थानीयले दैवी शक्तिका रूपमा मान्दै आएको एउटा अनौठो धार्मिकस्थल छ, जसलाई स्थानीयले ‘रिसुम गुम्बा’का रूपमा पुज्दै आएका छन् । यहाँ परम्परागत गुम्बामा जस्तो कुनै विशेष संरचना देखिँदैन । मार्फा गाउँमाथिको उत्तर–पश्चिमपट्टिको पहाडसँग जोडिएको भागमा रहेको चट्टानी पहाडलाई स्थानीयले रिसुम देवता अर्थात् रिसुम गुम्बाका रूपमा धार्मिक आस्था र विश्वास प्रकट गर्दै आएका छन् ।

हालको घरपझोङ–२ मा पर्ने मार्फा गाउँ स्थानान्तरण भएर बसेको बस्ती हो । झण्डै ७०० वर्षअघि मार्फाको हालको बस्ती ध्वाङ भन्ने स्थानमा थियो । जनसङ्ख्या बढ्दै जानु, खानेपानी, सिँचाइ र खेतीपाती गर्ने क्षेत्र कम हुँदै गएपछि ध्वाङ गाउँको पुरानो मार्फाली बस्ती अनुकूलता र सहजता खोज्दै ध्वाङबाट केही तल बेंसी झरेको थियो । त्यही बस्ती अहिलेको ध्वाङबाट सरेको मार्फाली प्राचीन बस्ती हो ।

ध्वाङबाट सरेको मार्फा गाउँको स्थानीय समुदाय न्यानो ठाउँ र सहज बसोबासको खोजी गर्दै पहाडको खोँचमा स्थानान्तरण भयो । त्यसपछि मार्फाली समुदायले सोही खोँचमाथिको चट्टानी पहाडमा आफ्ना तीन जातका भगवान्को प्रतीकस्वरूप छ्योर्तेन स्थापना गरी त्यसलाई ‘रिसुम गुम्बा’ नामकरण गरेको हो ।

रिसुमको शाब्दिक अर्थ तीन जातका देवता हो । ‘रि’को अर्थ जात र ‘सुम’को अर्थ तीन हुन्छ । ध्वाङबाट स्थानान्तरण भएको मार्फा गाउँमा सुरुमा तीन जातका मानिस बसोबास गर्थे । हाल उक्त समुदायले तीनबाट चार वटा जात बनाएको छ । मार्फालीको लालचन, पन्नाचन, हिराचन र ज्वारचन नामका चार जातले त्यहाँ बसोबास गर्दै आएका छन् ।

उत्तरी हुरी नचल्ने उपयुक्त स्थान रोजेर स्थानान्तरण भएको मार्फा बस्तीका सबै घर एकापसमा गुजमुच्च जोडिएका छन् । खेतीयोग्य जमिन जोगाउन मार्फाका घर एकैठाउँमा खेर नजानेगरी बस्ती बसाइएको स्थानीय बताउँछन् ।

गाउँमाथिको विशाल अग्लो चट्टानी पहाडमा अवस्थित रिसुम गुम्बा कुनै पूर्वाधार निर्माण गरिएको गुम्बा नभई प्राकृतिक पहाड नै धार्मिक आस्थाको केन्द्र बनेको स्थानीय जीवन लालचनले बताए । गाउँको सुरक्षा र मार्फाली समुदायको कल्याणका लागि तीन जातका समुदाय मिलेर चट्टानी पहाडलाई नै गुम्बा मानेर धार्मिक आस्था र विश्वास प्रकट गर्ने गरिएको उनले उल्लेख गरे ।

विशाल पहाडलाई त्रिभुजजस्तो आकारमा देखिने गरी रिसुम गुम्बाको पहाडलाई रङरोगन गरिएको छ । ध्वाङबाट सरेको मार्फाली समुदायले यस पहाडलाई आफ्ना देवताका रूपमा पुज्दै गुम्बाका रूपमा प्रकट गर्ने गरेको स्थानीय लालचनको भनाइ छ । त्रिभुज आकारको चट्टानको माथिल्लो भागमा दुई तिहाइ सेतो रङले पोतिएको छ भने तल्लो भागमा रातो रङ लगाइएको देख्न सकिन्छ ।

सोही त्रिभुज आकारको रिसुम गुम्बाको चट्टानी पहाडको तल्लो भागका खाली ठाउँमा मार्फाली समुदायका तीन जातका देवता रहेको सम्झना दिलाउने गरी तीन वटा छ्योर्तेन राखिएका छन् । त्यहाँ रातो, सेतो र कालो रङका छुट्टाछुट्टै छ्योर्तेन रहेका छन् । तिनलाई रिसुम गुम्बाका रूपमा धार्मिक आस्था राख्ने गरिएको स्थानीय लालचनले बताए । हाल त्यहाँ थप छ्योर्तेनसमेत राखिएका छन् ।

स्थानीय लालचनका अनुसार रिसुम गुम्बामा स्थापना गरिएका तीन देवताप्रति समुदायको आफ्नै प्रकारको आस्था र विश्वास रहेको छ । त्यहाँ रहेको कालो छ्योर्तेन भगवान् अवलोकितेश्वर, कालो छ्योर्तेन बज्र र रातो छ्योर्तेन मञ्जुश्री देवताका रूपमा पुज्ने गरिएको स्थानीय लालचनले जनाए । यी छ्योर्तेनमध्ये सेतो छ्योर्तेनलाई चेरिसी (अवलोकितेश्वर) र रातो छ्योर्तेनलाई झिम्प्याङ (मञ्जुश्री) नामले पूजाआजा गर्ने गरिएको छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार रिसुम गुम्बामा अवस्थित तीन देवतामध्ये सेतो छ्योर्तेनलाई दया, करुणा र परोपकारको प्रतीकका रूपमा लिने गरिएको छ भने कालो छ्योर्तेनलाई शक्तिशाली साहस, संरक्षण र आध्यात्मिक ऊर्जाको प्रतीकका रूपमा लिने गरिएको छ ।

त्यसैगरी, रातो छ्योर्तेनलाई ज्ञान, बुद्धि, विवेक र प्रज्ञाको प्रतीकका रूपमा मार्फाली समुदायले धार्मिक आस्थाका साथ पुज्ने गरेको उनले बताए । पहाडको खोँचमा अवस्थित मार्फामा रहेको मानव निर्मित रिसुम गुम्बामा बर्सेनि साउन अष्टमीका दिन धार्मिक पूजा गर्ने प्रचलन रहेको स्थानीय सुरेन्द्र हीराचनले जानकारी दिए ।

रिसुम गुम्बाको दैवी शक्तिकै कारण मार्फा गाउँमा कुनै ठूलो दैवी प्रकोप तथा अनिष्ट नभएको उनको भनाइ छ । रिसुम गुम्बामा अवस्थित तीन देवताको शक्तिले मार्फाली समुदायलाई शक्ति, ऊर्जा, मायाप्रेम, दया र ज्ञानलगायत ऊर्जा प्रदान गर्ने प्रेरणा मिलेको स्थानीय हिराचनले बताए ।

मार्फा गाउँमा बर्सेनि गाउँको मुखिया परिवर्तन गर्ने प्रचलन छ । नयाँ चुनिएका गाउँ मुखियाले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रशासनिक काम गर्नुपूर्व रिसुम गुम्बाको पूजा र दर्शन गर्नुपर्ने परम्परा रहेको छ । मुखिया गाउँको मुख्य अगुवा र नेतृत्व गर्ने व्यक्ति भएकाले कार्यसम्पादनका क्रममा आइपर्ने हरेक समस्या समाधान गर्न रिसुम गुम्बाबाट शक्ति, प्रेरणा, ज्ञान र क्षमता प्राप्त होस् भन्ने कामनासहित लामो समय लगाएर पूजा गर्ने प्रचलन रहेको उनले बताए ।

रिसुम गुम्बा मार्फा गाउँको श्रीपेचजस्तै चट्टानी पहाडमा ठिङ्ग उभिएको छ । पछिल्लो समय मार्फा गाउँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले रिसुम गुम्बाकोसमेत अवलोकन गर्ने गरेका छन् । पछिल्लो समय रिसुम गुम्बा जानका लागि घरपझोङ गाउँपालिका–सिँढी बाटो र रिसुम गुम्बा संरक्षणका लागि पूर्वाधार निर्माण गरिसकेको छ । रिसुम गुम्बा मार्फा गाउँबाट पैदल हिँडेर उकालो १० मिनेटमै पुग्न सकिन्छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार