मन्टेश्वरीको लापर्बाहीले सेफ्टी ट्यांकीमा डुबे बालक

२०८० असार २५, सोमबार

झापा : मेचीनगर–१० धुलाबारीमा रहेको ‘सानो साथी किन्डर गार्डेन’ नामको मन्टेश्वरीको लापर्बाहीका कारण त्यहाँ अध्ययनरत एक बालक सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका छन् । धुलावारीका आठ वर्षीय बालक तान्चोक लिम्बु सेफ्टी ट्यांकीमा डुबेर सख्त घाइते बनेका हुन् ।

बालकलाई अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा अति सघन कक्षमा राखेर उपचार गरिएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ । सोमबार दिउँसोको खाजापछि अचानक बाहिर निस्किएका उनी हराएपछि खोजी गर्दा मन्टेश्वरी भवनको पछिल्तिरको सेफ्टी ट्यांकीमा डुबेको अवस्थामा भेटिएको थियो ।

मन्टेश्वरीको सेफ्टी ट्यांकीको प्वाल पातलो र सामान्य प्लाइउडले मात्रै छोपिएको र वर्षाका कारण मक्किएको प्लाइउडमा टेक्न खोज्दा बालक सिधै ट्यांकीभित्र पसेको प्रहरीको अनुसन्धानमा खुलेको छ । ‘बालबालिका पढाउने मन्टेश्वरीले गम्भीर लापर्बाही गरेको देखिन्छ,’ इलाका प्रहरी कार्यालयका निरीक्षक अनिल मावोहाङले भने, ‘घटनाबारे हामी गम्भीर रुपमा छानबिन गर्नेछौं ।’

२०७० सालमा स्थापित उक्त मन्टेश्वरीमा ६३ जना बालबालिका अध्ययनरत रहेको मन्टेश्वरीका सञ्चालक मनोज गुरुङले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार