सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार

२०८० भाद्र ५, मंगलवार

काठमाडौं : सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकार तयार देखिएको छ । छानबिन समितिको कार्यदेशबारे गृहकार्य गर्न तीन नेतालाई जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको बैठकमा सुन तस्करीबारे छलफलका लागि उच्चस्तरीय समिति बनाउन सत्तारुढ दलहरु सहमत भएका हुन् ।

एमालेको माग सम्बोधन गर्नका लागि प्रधानमन्त्री तयार भएसँगै संसद अवरोध हट्ने निश्चितजस्तै छ । उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ । सरकारी वकिल लगायत त्यसका सदस्य रहनेछन् । एमाले उपाध्यक्ष सुवास नेम्बाङका अनुसार मन्त्रिपरिषद बैठकले त्यसको कार्यविधि पारित गर्नेछ ।

‘खुलेरै छलफल भयो । प्रधानमन्त्रीले हाम्रा सरोकार सम्बाेधन गर्नेगरी कुरा राख्नुभयो,’  नेम्बाङले भने, ‘सुनकाण्ड छानबिनमा देखिएका समस्याका कारण यो प्रकरण नै प्रश्नका  रुपमा रहँदै आएको थियो । दलहरु यसमा एउटा निष्कर्षमा पुगेका छन् भन्ने मैले ठानेको छु ।’

उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छानबिन गरिरहेकाले अर्को समिति बनाउनु नपर्ने तर्क गर्दै आएको थियो । एमाले प्रमुख सचेतक पदम गिरी भन्छन्, तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ भन्ने मत हामीले आज पनि राख्यौं । सरकारको तर्फबाट पनि उच्चस्तरीय छानबिन समिति बनाउन हामी पनि तयार नै छौं भन्ने आएको छ ।’

सीआईबीले गरिरहेको अनुसन्धानलाई अवरोध नगर्ने गरी छानबिन समिति बनाउन लागेको दाबी दलहरुले गरेका छन् । एमाले प्रमुख सचेतक गिरी सीआईबीको छानबिनमा क्रममा कुनै कमी भए नभएको हेर्नुका साथै तस्करी रोक्न कानुनी र संरचनागत सुधारका लागि चाल्नुपर्ने कामबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्नेमा आफूहरु प्रष्ट रहेको बताउँछन् ।

उनका अनुसार छानबिन समिति बनाउन दलहरु सहमत भएपनि त्यस्तो समितिको कार्यादेश के हुने भन्ने टुंगो लागेको छैन । यसको मस्यौदा तयार पार्न एमालेका सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई भोलि ११ बजेसम्म समय दिइएको छ ।

एमाले प्रमुख सचेतक गिरीका अनुसार भोलि २ बजे शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि पनि भोलिको बैठकले सहमति जुटाउने र सदनको अवरोध हट्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार