डिएसपी र परिवारलाई मार्छु भन्नेलाई सरकार समात्दैन, हिंसालाई प्रोत्साहित गरिरहेको छः ओली

२०८० भाद्र २५, सोमबार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङका डिएसपीलाई परिवारसहित मार्छुभन्दा सरकारले कांग्रेस प्रदेश सभा सदस्य खगेनसिंह हाङगामलाई नियन्त्रणमा नलिएको बताएका छन्।

सोमबार पार्टी कार्यालयमा तेजाब आक्रमणविरूद्धको दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सरकारले आतंकवादलाई प्रोत्साहित गरिरहेको ओलीले आरोप लगाए।

‘डिएसपीले असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भने, साथ दिन सक्दिनँ भनेका हुन्। उनले समाजमा शान्ति सुव्यवस्था, एकताको पक्षमा कुरा गरेका हुन्। त्यो कुरा सहन नसकेर तिमीलाई त मार्छौं नै, तिम्रा बालबच्चा, परिवार सबलाई पनि मार्छौं आदि इत्यादि भन्ने!,’ उनले भने, ‘यो आतंकवादबाहेक केही होइन, यो आतंककारी क्रियाकलापबाहेक केही होइन।’

एमाले अध्यक्ष ओलीले आजको सन्दर्भमा यी कुरा किन उठाऊँ भन्ने लाग्दालाग्दै पनि उठाउनु परेको बताए।

‘सकार यस्ता कुराहरूलाई प्रोत्साहित गरिरहेको छ। बढाइरहेको छ। मार्छु भनिरहेको छ। सपरिवार मार्छु भनेको छ। त्यस्ता मानिसलाई नियन्त्रणमा लिनु छैन,’ उनले भने।

केही दिनअघि पक्राउ परेका नुवाकोटका श्यामबहादुर सापकोटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्नुपूर्व खुकुरी हान्छु भन्दै हिँडेको बताए।

‘यहाँ खुकुरी हान्ने मानिसले त माइतीघर मण्डलमा खुकुरी हान्छु भनेकै थियो त! दुई-चार दिन, कति दिन अगाडि नै, खुकुरी हान्छु भनेको थियो। लात्ती हान्छु भनेर यति माथि खुट्टा उचालेकै थियो, अनेक गरेको थियो त उसले,’ उनले भने, ‘मानिसहरूको नाम लिएको थियो, मान्छेको नाम लिएर काट्छु भन्दाखेरि सरकार कानमा तेल हालेर बसेको थियो।’

एमालेले सोमबार तेजाब आक्रमणविरूद्धको दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा तेजाब आक्रमणमा परेकाहरू पनि सहभागी थिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिन्दवासिनी कंशाकारले तेजाब आक्रमणविरूद्धको कानुन राम्रो भए पनि कार्यान्वयनमा नभएको बताइन्। उनले नेपालमा ५०–६० मानिसहरू जलनमा पर्ने गरेको बताइन्। जलनमा परेकाहरूको उपचारको राम्रो प्रबन्ध नभएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार