काठमाडौं : वैदेशिक रोजगारीका लागि जापान पठाउने भनी १७ लाख २५ हजार रुपियाँ ठगी गर्ने म्याग्दी रघु गाउँपालिका – १ का दुर्गा बहादुर भट्टचनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको तारेकेश्वर नगरपालिका – ७ बस्दै आएका ५८ वर्षीय भट्टचनले पुर्ण विश्वकर्मासहित तीन जनालाई वर्किङ भिसामा जापान जान प्रतिव्यक्ति १२ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि ग्लोबल पीग फर्ममा मासिक दुई लाख २० हजार रुपियाँभन्दा बढी कमाइ हुने भन्दै प्रलोभनमा पारेका थिए ।
मलेसियन एयरलायन्सको टिकट समेत पाएका पीडितहरुले विमानस्थलमा चेकजाँच गर्दा सो भिषा र टिकट नक्कली भएको जानकारी पाएपछि आफूहरु ठगी भएको थाहा पाएका थिए । प्रहरीका अनुसार उनलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।





