बर्दिबास : चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाई तथा खानेपानी उपभोक्ता संघले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ । संघले दसैं, तिहार तथा छठजस्ता चाडवाडको समय पारेर आफ्नो सेवाक्षेत्रका उपभोेक्ताका लागि दसैंदेखि छठ (मंसिर ५ गते) सम्मका लागि पानी निःशुल्क गरेको हो ।
जिल्लाकै सुख्खाग्रस्त बर्दिबासमा सहज पानी आपूर्तिका लागि २२ वर्षअघि स्थापना भएको साना सहरी सरसफाई तथा खानेपानी संघको इतिहासमा निःशुल्क पानी वितरण गरेको हो । आर्थिक मन्दी र चरम महँगीको समयमा निःशुल्क पानी पाउँदा सर्वसाधारणले थोरै भए पनि राहत महसुश गरेको प्रतिक्रिया दिएका छन् । संघका अध्यक्ष भुलनसेन ठकुरीकाअनुसार यस अवधीमा २० लाख मूल्य बराबरको पानी वितरण गरिने संस्थानको भनाइ छ । प्रमूख चाडपर्वको शुभकामनासहित निःशुल्क पानी वितरण गर्ने निर्णय गरिएको सेनले बताए ।
‘पानी हाम्रा उपभोक्ताका लागि संघको तर्फबाट चाडपर्वको उपहार पनि हो’ अध्यक्ष सेनले भने । बर्दिबास खानेपानी संघले उपभोक्तालाई न्यूनतम शुल्कवापत ८० रुपियाँमा महिनाको १० हजार लिटर पानी उपलब्ध गराउँदैआएको छ । यो महशुल मुलकमै सवैभन्दा सस्तो भएको बर्दिबास खानेपानीको दावी छ । संघले आफ्नो सेवाक्षेत्र रहेको बर्दिबास १, २, ३ र १४ वडामा करिव पाँच हजार ६०० परिवारमा धारा जडान गरी पानी वितरण गर्दैआएको छ । त्यसमध्ये सहुलियतका ३५ वटा धाराबाट गरीव तथा विपन्न समुदायका तिर्खा मेटदैआएको अध्यक्ष सेनले बताए ।
संघको कोषाध्यक्ष भोजप्रसाद फुयाल (शंकर) ले पानीको सवैभन्दा बढी खपत हुने चाडावाडको बेला उपहारस्वरुप पानी वितरण गर्ने साना सहरी सरसफाई तथा खानेपानी उपभोक्ता संघ बर्दिबासको काम सराहनीय रहेको बताए । यस अवधिमा पानीको न्यूनतम महशुल पनि छुट गरिएको छ । ‘बर्दिबास खानेपानी उपभोक्ताको सम्पत्ति भएकाले पानीको दुरुपयोग नहुने विश्वासका साथ समितिले निःशुल्क वितरणको निर्णय गरेको हो’ फुयालले बताए।
बर्दिबास ३ की गृहिणी सीतादेवी थापाले दसैं लागेदेखि महँगीले ढाड सेकेको बेला निःशुल्क पानीले केही राहत पाएको प्रतिक्रिया दिए । ‘अचाक्ली महँगीको बेला सित्तैमा पानी खान पाइने खवरले अलिकति भए पनि मनलाई शीतल पारेको छ’ उनले भने।





