काठमाडौँ : टी-२० विश्वकप एसिया छनोटमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
नेपालले ओमानको पहिलो ओभरमै विकेट लियो। ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे।
सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे। नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए। उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे। यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भयो।
नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए। सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे।





